तरुण खबर
५ श्रावण २०८२, सोमबार १२:४४
काठमाडाैं, ५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा आजदेखि ४५ जना नयाँ शाखा अधिकृतले सेवा सुरु गरेका छन्। गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ती शाखा अधिकृतहरूलाई तीन दिने विशेष तालिम दिएर अध्यागमनमा खटाएको हो।
यससँगै विमानस्थल अध्यागमनको नेतृत्व पनि परिवर्तन भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रवक्ता सहसचिव घिमिरेलाई अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको छ। यस कदमलाई अध्यागमन सेवालाई थप चुस्त र पारदर्शी बनाउने दिशामा चालिएको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो। सोहीअनुसार गृह मन्त्रालयले यी अधिकृतहरूलाई अध्यागमनमा खटाएको र सोही सङ्ख्यामा शाखा अधिकृतहरूलाई मन्त्रालयमा तानेको जनाएको छ। यो व्यवस्थापनले अध्यागमनमा जनशक्तिको अभाव पूर्ति हुने र सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।


