तरुण खबर
५ श्रावण २०८२, सोमबार १३:३७
काठमाडाैं, ५ साउन । ४० डिग्रीको उखरमाउलो गर्मी, भीडको कारण राम्ररी नचलेको एयर कन्डिसन र पसिनाले भिजेको हल… यस्तै माहोलमा गुञ्जिए कुमा सागरका स्वरहरू —
“ओ जाने भए जाउ, ए माया अब धेरै नसताउ…”
दुबईस्थित अल नासर लेजरल्याण्ड हल आइतबार साँझ नेपाली गीत-संगीतका पारखीहरूका लागि एउटा अविस्मरणीय क्षण बन्यो, जब ४ हजारभन्दा बढी दर्शकको उपस्थितिमा ‘गोर्खा साँझ सिजन ३’ भव्य रूपमा सम्पन्न भयो।

यसपटकको कार्यक्रमको मुख्य आकर्षण बनेका थिए कलाकार कुमा सागर, जसले पहिलोपटक दुबईमा आफ्नो प्रस्तुती दिएका थिए। आफ्नो पहिचान बोकेको स्वर र बाँध्ने शैलीका साथ मञ्चमा उत्रँदा दर्शकहरू हुटिंग र तालिमात्र होइन, गीतसँगै गाउन पनि थाले। उनले प्रस्तुत गरेका ‘हावाको लहर’, ‘ओ चम्पा’, ‘चमेलीको फूल’ जस्ता चर्चित गीतहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाए। व्याण्डसँगै निरन्तर प्रस्तुती दिँदै गर्दा दर्शकले पनि उस्तै जोशका साथ साथ दिँदै माहोल तताए।

कुमा सागरले भावुक हुँदै भने, “हामी दुबईमा २ दिनदेखि छौं, यहाँको गर्मी त असह्य छ। तर त्यसभन्दा पनि यहाँ पसिना बगाउँदै देश र परिवारका लागि जीवन गुजारिरहेका नेपालीहरूलाई देख्दा झनै सम्मानको भावना जागेको छ।” उनले नेवा संस्कृतिको पुनर्जागरणमा संगीतमार्फत समर्पित रहेको कुरा पनि मञ्चमै दोहोर्याए। कुमा सागरको साथमा रहेका कलाकारहरूमा शरद देउला, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसु थिए, जसले सम्पूर्ण प्रस्तुतिमा ऊर्जा थपे।

कार्यक्रमका अघिल्लो प्रस्तोता थिए डान्सर ममता राना मगर र लोक दोहोरी गायक मोहन खड्का, जसले सुरुआती माहोल जमाएका थिए। त्यसपछि दुबईमै सक्रिय ‘कन्दरा ब्याण्ड’ ले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिए। कार्यक्रम संयोजक भीम मल्ल ठकुरी ले अघिल्लो संस्करणभन्दा अझ भव्य रूपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै सबै दर्शक र सहयोगी संस्थालाई धन्यवाद दिए। सह–संयोजक अनिल गुरुङ ले नेपाली समुदायबाट पाएको समर्थनले आयोजक टिम थप उत्साहित भएको बताए।

उक्त साँझमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूएई अध्यक्ष विकास शाही, आईसीसी उपाध्यक्ष मनोज गोर्खाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप गौरवपूर्ण बनाएको थियो। ‘गोर्खा साँझ सिजन ३’ ले दुबईस्थित नेपाली समुदायलाई संगीत, संस्कृति र एकताको एक विशेष साँझ प्रदान गर्यो, जुन लामो समयसम्म सम्झनलायक रहने निश्चित छ।


