देशभर धान रोपाइँमा सुस्तता: गत वर्षभन्दा १२ प्रतिशतले कमी, सुदूरपश्चिम अगाडि

देशभर धान रोपाइँमा सुस्तता: गत वर्षभन्दा १२ प्रतिशतले कमी, सुदूरपश्चिम अगाडि तरुण खबर ६ श्रावण २०८२, मंगलवार ११:०५
देशभर धान रोपाइँमा सुस्तता: गत वर्षभन्दा १२ प्रतिशतले कमी, सुदूरपश्चिम अगाडि

काठमाडाैं, ६ साउन । यस वर्ष साउनको तेस्रो सातासम्म देशभर ७२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत विन्दुले कम हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म करिब १० लाख हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ ।

मन्त्रालयले आइतबार संकलन गरेको तथ्यांकअनुसार देशका केही भागमा अझै पनि धान रोपाइँ जारी छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार, नेपालमा सामान्यतया १४ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशले ९७ प्रतिशत लक्ष्य पूरा गरी करिब १ लाख ७१ हजार हेक्टर जमिनमा धान रोपाइँ गरिसकेको छ । यसैगरी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि ८८-८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जोशीले जानकारी दिए ।

मन्त्रालयले मध्य-भदौसम्ममा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न हुने अनुमान गरेको छ । प्रवक्ता जोशीका अनुसार, देशको कुल धान उत्पादनको करिब ७० प्रतिशत तराई क्षेत्रमा हुने गरेको छ भने बाँकी ३० प्रतिशत पहाडी क्षेत्रको योगदान रहन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा देशमा कुल ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । प्रतिकूल मौसम, प्राकृतिक प्रकोप, अत्यधिक वर्षा र खडेरीजस्ता कारणले धान रोपाइँको तालिकामा ढिलाइ हुने गरेको छ ।

मन्त्रालयका अनुसार, धान उत्पादनमा १० प्रतिशतको परिवर्तनले देशको कुल गार्हस्थ उत्पादन (GDP) मा करिब १ प्रतिशतको परिवर्तन ल्याउन सक्छ । यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिक टन उपभोगयोग्य चामल प्राप्त हुने अपेक्षा गरिएको छ ।