धनगढी आन्तरिक राजस्व कार्यालयको आम्दानीमा सुधार: गत वर्षभन्दा ७.४४ प्रतिशत बढी राजस्व संकलन

धनगढी आन्तरिक राजस्व कार्यालयको आम्दानीमा सुधार: गत वर्षभन्दा ७.४४ प्रतिशत बढी राजस्व संकलन तरुण खबर ६ श्रावण २०८२, मंगलवार ११:३७
धनगढी आन्तरिक राजस्व कार्यालयको आम्दानीमा सुधार: गत वर्षभन्दा ७.४४ प्रतिशत बढी राजस्व संकलन

काठमाडाैं, ६ साउन । धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८७ करोड ७ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ७.४४ प्रतिशतले बढी हो ।

कार्यालयले गत आर्थिक वर्षका लागि ३ अर्ब ५३ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भए पनि लक्ष्यको ८१.३९ प्रतिशत मात्रै हासिल गर्न सफल भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।

माझीका अनुसार, गत आर्थिक वर्षको लक्ष्य बराबर राजस्व संकलन नभए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने बढी राजस्व उठेको छ ।

राजस्व कार्यालयले गत आर्थिक वर्षमा विभिन्न शीर्षकहरूबाट राजस्व संकलन गरेको थियो । यसमा साझेदारी आयकरबाट २ करोड ६७ लाख ३८ हजार रुपैयाँ, व्यक्तिगत आयकरबाट १ अर्ब २७ करोड ५९ लाख ८१ हजार रुपैयाँ, अन्तशुल्क आयकरबाट १ अर्ब ११ करोड ४४ लाख ३० हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) बाट १ अर्ब १४ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ ।

उल्लेखनीय छ, आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले ३ अर्ब ८४ करोड १४ लाख रुपैयाँको लक्ष्य राखेकोमा २ अर्ब ६७ करोड ८४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस वर्षको वृद्धिले राजस्व संकलनमा सकारात्मक संकेत देखाएको छ ।