तरुण खबर
६ श्रावण २०८२, मंगलवार ११:५१
काठमाडाैं, ६ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ । टोलीले सामाजिक सञ्जालमार्फत आफ्नो लोगो सार्वजनिक गर्दै यसले सम्पदा, भावना र राष्ट्रिय गौरवको सम्मान गरेको जनाएको छ । यो नयाँ लोगोले लुम्बिनी प्रदेशको चिनारी र नेपालको राष्ट्रिय पहिचानलाई क्रिकेट खेलमार्फत झल्काउने प्रयास गरेको देखिन्छ ।
लोगोमा समाहित तत्वहरू
नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित अशोक स्तम्भ र नेपालको राष्ट्रिय झण्डा झल्काउने तत्वहरू समावेश गरिएको छ । यी तत्वहरूले लुम्बिनी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई प्रस्ट पार्नुका साथै राष्ट्रिय भावनालाई पनि उजागर गरेका छन् । यो लोगोले टोलीलाई खेलमा मात्र नभई सांस्कृतिक प्रतिनिधित्वमा समेत अब्बल बनाउने अपेक्षा गरिएको छ ।


