तरुण खबर
६ श्रावण २०८२, मंगलवार १२:२९
काठमाडाैं, ६ साउन । आर्थिक वर्ष २०८१/८२ नेपालको वैदेशिक व्यापारका लागि सुधारोन्मुख वर्षका रुपमा रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, गत आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको देखिएको छ, जसले समग्र अर्थतन्त्रमा सकारात्मक संकेत दिएको छ । यद्यपि, व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा बढेको छ ।
आयातमा १३.२५ प्रतिशतको वृद्धि
विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा नेपालमा १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो । मासिक रुपमा हेर्दा, साउनमा १ खर्ब २८ अर्ब, भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ खर्ब २८ अर्ब, कात्तिकमा १ खर्ब २२ अर्ब, मंसिरमा १ खर्ब ४८ अर्ब, पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब, फागुनमा १ खर्ब ५७ अर्ब, चैतमा १ खर्ब ६४ अर्ब, वैशाखमा १ खर्ब ६४ अर्ब ६५ करोड, जेठमा १ खर्ब ७० अर्ब र असारमा १ खर्ब ६० अर्ब रुपैयाँको आयात भएको छ । यो वृद्धिले देशभित्रको माग र आर्थिक गतिविधि बढेको संकेत गर्छ ।
निर्यातमा ८२ प्रतिशतको फड्को
गत आर्थिक वर्ष निर्यातमा अझ ठूलो उछाल देखिएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँमा सीमित रहेको निर्यात यस अवधिमा बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो । निर्यातको यो वृद्धिमा भटमास तथा सोयाबिन तेलले ठूलो हिस्सा ओगटेको छ । मासिक रुपमा हेर्दा, साउनमा १२ अर्ब २२ करोड ६१ लाख, भदौमा २५ अर्ब ९ करोड ३१ लाख, असोजमा ३८ अर्ब ३७ करोड ८७ लाख, कात्तिकमा ५२ अर्ब ६७ करोड ७ लाख, मंसिरमा ७३ अर्ब ६५ करोड ९७ लाख, पुसमा ९८ अर्ब ७८ करोड ९२ लाख, माघमा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख, फागुनमा १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख, चैतमा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख, वैशाखमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख र जेठमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ ।
कुल व्यापार र व्यापार घाटाको अवस्था
एक वर्षको अवधिमा नेपालको कुल वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेर २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ । तर, आयातमा भएको वृद्धिका कारण व्यापार घाटा पनि बढेको छ । गत आर्थिक वर्षमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँको व्यापार घाटाको तुलनामा ६ प्रतिशतले बढी हो ।


