तरुण खबर
६ श्रावण २०८२, मंगलवार १३:१२
काठमाडाैं, ६ साउन । नेपाली अटोबजार पुनरुत्थानको बाटोमा लागेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा समग्र सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि भएको छ, जसले बजारमा सकारात्मक तरंग ल्याएको छ ।
विद्युतीय सवारीसाधनको आयातमा छलाङ
गत आर्थिक वर्षमा विद्युतीय प्यासेन्जर गाडीको आयात १४ प्रतिशतले बढेको छ । कुल ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरका १३ हजार ५७८ युनिट प्यासेन्जर इभी आयात भएका छन् । यसबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ युनिट मात्रै यस्ता गाडी आयात भएका थिए ।
यसैगरी, कमर्सियल इभीको आयातमा त झन् ७३ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्ष ११ अर्ब ६ करोड रुपैयाँ बराबरका ३ हजार ८१३ युनिट कमर्सियल इभी आयात भएका छन्, जसबाट सरकारले २ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष १ हजार ५ युनिट कमर्सियल इभी आयात भएका थिए ।
दुईपाङ्ग्रे सवारीसाधनको कारोबारमा उछाल
बाइक र स्कुटरको बजारमा पनि उल्लेखनीय उछाल आएको छ । गत आर्थिक वर्षमा बाइक र स्कुटरको आयात ३४ प्रतिशतले बढेको छ । २४ अर्ब ५० करोड रुपैयाँ बराबरका २ लाख १ हजार युनिट बाइक र स्कुटर आयात गरिएको छ, जसबाट सरकारले २४ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष १ लाख ३४ हजार ५५६ युनिट बाइक र स्कुटर आयात भएका थिए ।
अन्य सवारीसाधनको आयात विवरण
तीनपाङ्ग्रे सवारीसाधनतर्फ गत आर्थिक वर्ष ८४ करोड रुपैयाँ बराबरका ४ हजार २१२ युनिट आयात भएका छन्, जुन अघिल्लो वर्षको १ हजार ७१६ युनिटको तुलनामा धेरै हो । इलेक्ट्रिक पावरट्रेन भएका दुई/तीन पाङ्ग्रे सवारीसाधन २ अर्ब ९६ करोड रुपैयाँ बराबरका २९ हजार ४३७ युनिट आयात भएका छन्, जसबाट सरकारले १ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष त्यस्ता २० हजार ७०४ युनिट सवारीसाधन आयात भएका थिए ।
इन्धनबाट चल्ने सवारीसाधनको आयातमा पनि वृद्धि
इन्धनबाट चल्ने प्यासेन्जर गाडीको आयात पनि बढेको छ । गत आर्थिक वर्ष ६ अर्ब ९३ करोड रुपैयाँ बराबरका ४ हजार ९७८ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका छन्, जसबाट १६ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्ष ४ हजार २४६ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका थिए । यस्तै, कमर्सियल इन्धन गाडी ७ अर्ब २८ करोड रुपैयाँ बराबरका ४ हजार २३७ युनिट आयात भएका छन्, जसबाट सरकारले ७ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसरी समग्रमा नेपाली अटोबजारमा आयातमा उत्साहजनक वृद्धि देखिएको छ ।


