तरुण खबर
६ श्रावण २०८२, मंगलवार १५:३३
काठमाडाैं, ६ साउन । अमेरिका प्रवेश गर्न चाहने अन्तर्राष्ट्रिय आगन्तुकहरूले अब नयाँ ‘भिसा इन्ग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । ट्रम्प प्रशासनको हालै पारित गरिएको घरेलु नीतिसम्बन्धी विधेयकमा यो व्यवस्था समावेश गरिएसँगै अमेरिका भ्रमणको योजना बनाइरहेका पर्यटक तथा विद्यार्थीहरूमा थप आर्थिक भार पर्ने भएको हो । सीएनएनका अनुसार, अब पर्यटक तथा विद्यार्थीले हालको भिसा आवेदन शुल्कमा थप २५० अमेरिकी डलर वा सोभन्दा बढी रकम तिर्नुपर्नेछ ।
शुल्कको दायरा र उद्देश्य
यो नयाँ शुल्क गैर-आप्रवासी भिसा अनिवार्य पर्ने सबै आगन्तुकहरूमा लागू हुनेछ । यसमा पर्यटक, व्यापारिक प्रयोजनमा आउनेहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अन्य अस्थायी आगन्तुकहरू पनि समावेश छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०२४ मा करिब १ करोड १० लाख गैर-आप्रवासी भिसा जारी गरिएका थिए ।यद्यपि, भिसा वेभर कार्यक्रममा सहभागी देशहरू जस्तै अष्ट्रेलिया र धेरै युरोपेली मुलुकका नागरिकहरू, जो ९० दिन वा कम अवधिको लागि अमेरिका जान्छन्, उनीहरूलाई भने यो नयाँ शुल्क लागू हुने छैन । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो शुल्क आप्रवासन नियन्त्रणलाई बलियो बनाउने, भिसा ओभरस्टे कम गर्ने र सीमाक्षेत्र सुरक्षालाई सुदृढ गर्ने उद्देश्यले लागू गरिएको बताएका छन् ।
शुल्कको भुक्तानी र फिर्ता प्रक्रिया
यो शुल्क भिसा जारी हुने बेला नै तिर्नुपर्नेछ र यसमा कुनै शुल्क छुटको व्यवस्था छैन । तर, विधेयकमा यात्रुहरूले यदि भिसाका सर्तहरू पालना गरेमा, यात्रा सकिएपछि उक्त शुल्क फिर्ता लिन सकिने व्यवस्था उल्लेख छ । यो शुल्कलाई रिफन्डयोग्य सुरक्षा धरौटीका रूपमा बुझ्न सकिने बताइएको छ । यद्यपि, शुल्क फिर्ता लिने प्रक्रिया भने अझै स्पष्ट भइसकेको छैन । फिर्ता नहुने शुल्क भने अमेरिकी कोषाध्यक्षको सामान्य कोषमा जम्मा गरिने स्पष्ट उल्लेख विधेयकमा गरिएको छ ।
आर्थिक भार र आगामी व्यवस्था
आर्थिक वर्ष २०२५ मा लागू हुने प्रारम्भिक शुल्क कम्तीमा २५० डलर वा गृह सुरक्षा सचिवले तोकेको थप रकम हुन सक्नेछ । यो रकम हरेक वर्ष मुद्रास्फीतिअनुसार समायोजन गरिनेछ । शुल्कसम्बन्धी आधिकारिक जानकारी अमेरिकी विदेश मन्त्रालयको भिसा जानकारी पृष्ठमा प्रकाशित गरिने मन्त्रालयले जनाएको छ ।अमेरिकन ट्राभल एसोसिएसनले यो नयाँ शुल्कले अमेरिका भ्रमण गर्ने पर्यटकहरूको लागि अनावश्यक आर्थिक बोझ थपिएको बताएको छ । यस शुल्कले अमेरिकी भ्रमणको पूर्वखर्च १४४ प्रतिशतले बढाउने एसोसिएसनको भनाइ छ । यसले विशेषगरी कम आय भएका पर्यटक तथा विद्यार्थीहरूका लागि अमेरिका भ्रमण थप चुनौतीपूर्ण बनाउने देखिन्छ ।


