तरुण खबर
७ श्रावण २०८२, बुधबार ११:२८
काठमाडाैं, ७ साउन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज बुधबार १० अर्ब रुपैयाँ बराबरको “विकास ऋणपत्र २०८५” जारी गर्ने भएको छ। तीन वर्ष परिपक्व अवधि रहेको यो ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ।
यो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ। साथै, ऋणपत्रलाई कर्जा लिन वा दिनका लागि धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुने यो ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ र आर्जित ब्याजमा आयकर लाग्नेछ। ऋणपत्रको साँवा भुक्तानी २०८५ साउन ८ गते हुनेछ।
इच्छुक खरिदकर्ताहरूले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलवालाका रूपमा सहभागी हुन सक्नेछन्। कुल जारी रकममध्ये ८.५ अर्ब (८५%) प्रतिस्पर्धी बोलवालाहरूका लागि र १.५ अर्ब (१५%) अप्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्याइएको छ। यदि अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको रकम अपुग भएमा बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई उपलब्ध गराइनेछ। यस्तै, अप्रतिस्पर्धी बोलवालाको बोल रकम छुट्याइएको रकमभन्दा बढी भएमा समानुपातिक रूपमा वितरण गरिनेछ।
सरकारले चालु आर्थिक वर्षमा कुल ३६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।


