तरुण खबर
७ श्रावण २०८२, बुधबार ११:४३
काठमाडाैं, ७ साउन । स्वच्छ ऊर्जा र दिगो यातायाततर्फ अग्रसर भइरहेको नेपालले विद्युतीय सवारी (इभी) को क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण र इन्धन आयातमाथिको निर्भरता घटाउने विश्वव्यापी अभियानसँगै नेपालमा पनि इभीको प्रयोग तीव्र गतिमा बढेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१-८२ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यो तथ्य उजागर गरेको हो।
आयातको समग्र चित्र
विभागका अनुसार, गत आर्थिक वर्षमा कुल १३ हजार ५६९ युनिट विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका छन्। यो अघिल्लो आर्थिक वर्ष (२०८०-८१) को तुलनामा १५.९६ प्रतिशतले बढी हो, जतिबेला १ हजार ७०१ वटा इभी आयात भएका थिए। मूल्यका हिसाबले पनि गत वर्ष ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरको इभी आयात भएको छ, जुन अघिल्लो वर्षको २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँको तुलनामा ७.७० प्रतिशतले बढी हो।
क्षमता र स्रोत मुलुक
गत आर्थिक वर्षमा विभिन्न क्षमताका इभीहरू नेपाल भित्रिएका छन्। तथ्याङ्क अनुसार, ५० किलोवाट क्षमताका ४ हजार ७४३ वटा, ५१ देखि १०० किलोवाट क्षमताका ७ हजार ४३१ वटा, १०१ देखि २०० किलोवाट क्षमताका १ हजार ३६२ युनिट, र ३०० किलोवाट क्षमताका ४४ युनिट इभी आयात भएका छन्। नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मनी, अमेरिका र इन्डोनेसिया लगायतका विभिन्न राष्ट्रहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाटसम्मका इभीहरू आयात हुँदै आएका छन्।
मासिक आयातको प्रवृत्ति र जेठको कीर्तिमान
विभागका अनुसार, नेपालमा मासिक औसत १ हजार १३० युनिट हाराहारीमा इभी आयात हुँदै आएको छ। यद्यपि, गत असार महिनामा भने आयातमा उल्लेखनीय गिरावट आई ७७ युनिटमा सीमित भएको थियो, जुन औसतभन्दा निकै कम हो। यसको ठीक विपरीत, गत जेठ महिनामा इभी आयात हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। जेठमा मात्रै ८ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ बराबरका ३ हजार ६३३ वटा इभी नेपाल भित्रिएका थिए। बजेटमार्फत इभीमाथि कर वृद्धि हुने अनुमानसँगै जेठमा आयात ह्वात्तै बढेको विश्लेषण गरिएको छ। अन्य महिनाहरूमा वैशाखमा १ हजार ८९२ युनिट, चैतमा ८७८ युनिट, फागुनमा ८३३ युनिट, माघमा ७७६ युनिट, पुसमा ७८३ युनिट, मंसिरमा २१० युनिट, कात्तिकमा ९६९ युनिट, असोजमा ९१६ युनिट, भदौमा २१ युनिट र साउनमा ३८१ युनिट इभी आयात भएका थिए।
बजारमा चिनियाँ र भारतीय बर्चस्व
नेपाली इभी बजारमा चिनियाँ ब्रान्डहरूको बर्चस्व स्पष्ट देखिन्छ। कुल इभी आयातमा चिनियाँ ब्रान्डको हिस्सा ७५.२२ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा चीनबाट कुल २४ अर्ब ७३ करोड २६ लाख रुपैयाँ बराबरका १० हजार २०७ वटा इभी आयात भएका छन्। चीनपछि भारतीय ब्रान्डहरूको उपस्थिति बाक्लो छ। गत आवमा भारतबाट ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरका ३ हजार २४६ वटा इभी नेपाल भित्रिएका छन्। यसबाहेक, मलेसियाबाट ५० युनिट, जर्मनीबाट ४५ युनिट, संयुक्त राज्य अमेरिकाबाट ११ युनिट, कोरियाबाट ६ युनिट र इन्डोनेसियाबाट ४ युनिट इभी नेपाल भित्रिएका छन्। बीवाईडी, टाटा, एमजी, नेटा, हुन्डाई जस्ता ब्रान्डका विद्युतीय सवारीहरू नेपाली सडकमा द्रुत गतिमा दौडिरहेका छन्।


