तरुण खबर
७ श्रावण २०८२, बुधबार १२:०१
काठमाडाैं, ७ साउन । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बुधबार) पनि बजारबाट ८० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिन अवधिको लागि निक्षेप संकलन बोलकबोल उपकरण (Deposit Collection Auction) मार्फत उक्त रकम बजारबाट तान्न लागेको हो।
यो बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि बोलकबोल ब्याजदरका आधारमा गर्नुपर्नेछ।
केन्द्रीय बैंकका अनुसार, आज साउन ७ गते मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल गर्न सकिनेछ। बोलकबोल गर्दा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको लागि आवेदन दिन सकिनेछ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकले यो उपकरण मार्फत खिचेको रकमको साँवा र ब्याज असोज १ गते भुक्तानी गर्नेछ।
यसअघि, साउन ४ गते आइतबार पनि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ प्रशोचन गरेको थियो। बजारमा तरलताको चाप बढ्दै गएपछि राष्ट्र बैंकले यसरी निरन्तर रकम खिच्दै आएको छ।


