तरुण खबर
७ श्रावण २०८२, बुधबार १२:१०
काठमाडाैं, ७ साउन । आगामी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेइकोको पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे५ सार्वजनिक हुने भएको छ। एक्सपोलाई लक्षित गर्दै ओमोडा/जेइकोको आधिकारीक बिक्रेता एपीजी अटोमोबाइलले यो नयाँ एसयूभी नेपाल भित्र्याएको हो। एक्सपोबाटै यसको बिक्री सुरु गर्ने कम्पनीको योजना रहेको छ।
डिजाइन र विशेषता
जेइको जे५ ईभीलाई पहिलोपटक इन्डोनेसिया इन्टरनेशनल मोटर शो २०२५ मा प्रोटोटाइपको रूपमा प्रस्तुत गरिएको थियो भने सम्पूर्ण विनिर्देशनसहितको सार्वजनिक डेब्यु अटो शाङ्घाइ २०२५ मा गरिएको थियो। पूर्ण रूपमा विद्युत्बाट चल्ने यो एसयूभीमा परम्परागत ग्रिलको सट्टा पारदर्शी प्यानल र ‘जेइको’ को लोगो राखिएको छ, जसले स्लिक हेडलाइट र मिनिमल बम्परसँग मिलेर आधुनिक लुक प्रदान गर्छ। यस गाडीको समग्र डिजाइन रेञ्ज रोभर इभोकबाट प्रभावित देखिन्छ, जसमा क्लामशेल हुड, सम्पूर्ण चौडाइ ओगट्ने टेललाइट र पछाडिको स्पोइलरजस्ता विशेषताहरू समावेश छन्।
यद्यपि, अन्य जेइको मोडलहरूमा प्रयोग हुने पप-अप डोर ह्यान्डलको सट्टा यसमा परम्परागत ह्यान्डल र देखिने ए-पिलरहरू राखिएका छन्। ग्यासमा आधारित जे५ मोडलकै आधारमा निर्माण गरिएको यस इलेक्ट्रिक संस्करणको लम्बाइ ४,३८० मिमि, चौडाइ १,८६० मिमि, उचाइ १,६५० मिमि र ह्वीलबेस २,६२० मिमि रहेको छ। विभिन्न भूभागमा सहज सञ्चालनका लागि डिजाइन गरिएको यस गाडीमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टी-लिंक सस्पेन्सन जडान गरिएको छ, जसले २० डिग्रीको एप्रोच एंगल र ३० डिग्रीको डिपार्चर एंगलको अफ-रोड क्षमता प्रदान गर्दछ।
ब्याट्री र कार्यक्षमता
डब्लुएलटिसी परीक्षणअनुसार यसले ४०० किलोमिटरसम्म र एनइडिसी मापदण्डअनुसार ४७० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। ब्याट्रीमा छिटो चार्ज सुविधा पनि उपलब्ध छ, जसअन्तर्गत ३० प्रतिशतदेखि ८० प्रतिशत चार्ज हुन २७ मिनेट मात्र लाग्छ। नेपाली बजारमा यस गाडीको मूल्य ६० लाख रुपैयाँभन्दा कम पर्ने अपेक्षा गरिएको छ।


