करातेकी एरिका र फुटबलकी अञ्जना भक्तपुरमा सम्मानित

करातेकी एरिका र फुटबलकी अञ्जना भक्तपुरमा सम्मानित तरुण खबर ७ श्रावण २०८२, बुधबार १२:४१
करातेकी एरिका र फुटबलकी अञ्जना भक्तपुरमा सम्मानित

काठमाडाैं, ७ साउन । एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगरलाई मङ्गलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मान गरिएको छ।

मध्यपुरस्थित इनर ह्विल क्लबले दुवै खेलाडीलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो। नेपाली खेलकुदमा उनीहरूले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनीहरूलाई ‘डा. सृष्टी उत्कृष्ट महिला खेलाडी अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मानित कराते स्टार एरिकाले कराते वान प्रिमियर लिगमा कांस्य पदक, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण पदक, तथा एसियन च्याम्पियनसिपमा रजत पदक जितिसकेकी छन्। यस्तै, फुटबलकी सनसनी अञ्जना राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य हुन्।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले खेलाडीहरूलाई सम्मान गर्दै खेलकुदमा महिलाको सहभागिता र सफलतालाई कदर गर्न पाउनु आफ्नो लागि गौरवको विषय रहेको बताइन्। उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय खेलाडीहरूलाई सम्मान गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन्।

सम्मानित दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ बढी समर्पित भएर खेल्न ऊर्जा मिल्ने बताएका छन्। उनीहरूले आयोजकलाई धन्यवाद पनि दिएका छन्।