तरुण खबर
७ श्रावण २०८२, बुधबार १३:२०
काठमाडाैं, ७ साउन । सिरहा जिल्लास्थित मदार भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनमा उल्लेखनीय वृद्धि हासिल गरेको छ। कार्यालयले आफ्नो निर्धारित लक्ष्यभन्दा २०.७ मिलियन रुपैयाँ (२ करोड ७ लाख रुपैयाँ) बढी राजस्व संकलन गरी कुल १४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको मदार भन्सारका प्रमुख तोयानाथ सापकोटाले जानकारी दिएका छन्।
भन्सार प्रमुख सापकोटाका अनुसार, गत आर्थिक वर्षको मङ्सिर महिनामा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भए पनि अन्य प्रायः सबै महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको थियो। यसले गर्दा वार्षिक लक्ष्यको १२२ प्रतिशत हासिल गर्न कार्यालय सफल भएको हो। गत आर्थिक वर्षको यो राजस्व सङ्कलन पछिल्लो चार आर्थिक वर्षमध्येकै उच्च रहेको पनि उनले बताए। सापकोटाका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा ११० मिलियन (११ करोड) रुपैयाँभन्दा बढी, आर्थिक वर्ष २०७८/७९ मा ९०.३ मिलियन (९ करोड ३ लाख) रुपैयाँभन्दा बढी र आर्थिक वर्ष २०७९/८० मा ९०.४ मिलियन (९ करोड ४ लाख) रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो।


