तरुण खबर
८ श्रावण २०८२, बिहीबार ११:२८
काठमाडाैं, ८ साउन । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको निर्यातमा ऐतिहासिक प्रगति भएको दाबी गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको उल्लेख गरेका हुन्।
ओलीका अनुसार, उनी प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो आर्थिक वर्षमा नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँमा सीमित थियो। तर, हालको तथ्याङ्कले यो आँकडा एकै वर्षमै ८१.८० प्रतिशतले उकालो लागेको देखाएको उनको दाबी छ।
उनले पोस्टमा लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।”
पूर्वप्रधानमन्त्री ओलीले यो उपलब्धिलाई वर्तमान सरकारको नीतिगत निर्यातमुखी दृष्टिकोण र उत्पादन क्षमतामा आएको विस्तारको नतिजा भनेका छन्। तथापि, उनले यो दाबी राख्दा तथ्यांक स्रोतको स्पष्ट उल्लेख गरेका छैनन्, जसले आलोचनाको विषय पनि बन्ने देखिएको छ।
यद्यपि, यसरी निर्यात वृद्धिको दाबी गर्नुले अर्थतन्त्रको सकारात्मक संकेत देखाए पनि व्यावहारिक धरातलमा यसको निरन्तरता र दीर्घकालीन प्रभावमूलकता सुनिश्चित गर्नु सरकार र निजी क्षेत्र दुवैका लागि चुनौतीपूर्ण रहनेछ।


