नेपाली अर्थतन्त्र पुनरुत्थानको बाटोमा: राष्ट्र बैंकको प्रतिवेदनले देखायो सुधारका संकेत

नेपाली अर्थतन्त्र पुनरुत्थानको बाटोमा: राष्ट्र बैंकको प्रतिवेदनले देखायो सुधारका संकेत तरुण खबर ९ श्रावण २०८२, शुक्रबार ११:४३
नेपाली अर्थतन्त्र पुनरुत्थानको बाटोमा: राष्ट्र बैंकको प्रतिवेदनले देखायो सुधारका संकेत

काठमाडाैं, ९ साउन । कोरोना महामारी, राजनीतिक अस्थिरता र विश्वव्यापी आर्थिक मन्दीको प्रभाव खेपिरहेको नेपाली अर्थतन्त्र पुनरुत्थानको बाटोमा लागेको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले हालसालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को एकीकृत आर्थिक गतिविधि अध्ययन (अर्ध–वार्षिक प्रतिवेदन) ले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार, गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। यो दर अघिल्लो वर्षको ३.७ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो, जसले विगत केही वर्षदेखि खुम्चिँदै गएको आर्थिक गतिविधि फेरि लयमा फर्कन थालेको देखाउँछ। मुख्यतः कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रको सुधारले यो वृद्धिमा टेवा दिएको छ।
अघिल्लो वर्ष संकुचनमा रहेका क्षेत्रहरू समेत यस वर्ष सकारात्मक क्षेत्रमा प्रवेश गरेको देखिन्छ।मुद्रास्फीति नियन्त्रणमा र मूल्य स्थायित्वको सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्षको पहिलो छ महिनामा मुद्रास्फीति सापेक्षतः न्यून देखिएको छ।
भारतमा मूल्य वृद्धि नियन्त्रणमा रहनु र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउनु जस्ता कारणले मूल्य चाप घटेको हो। यद्यपि, भू–राजनीतिक अस्थिरता, ठूला मुलुकहरूको व्यापार नीति र आपूर्ति श्रृंखलामा अवरोध आउन सक्ने सम्भावनाले केही जोखिम भने रहने प्रतिवेदनमा उल्लेख छ।कृषि र पशुपालन क्षेत्रमा सामान्य वृद्धि भएको छ। सिञ्चित जमिनको क्षेत्रफल बढ्नु, रासायनिक मल, उन्नत बीउ र प्रविधिको पहुँच सजिलो हुनु तथा मौसम अनुकूल हुनुका कारण कृषि उत्पादनमा सुधार देखिएको हो।
पशुपालनतर्फ दूध र मासुको माग वृद्धि, युवा पुस्ताको आकर्षण तथा पशु सेवाको पहुँचले पनि यो क्षेत्रमा सुधार आएको छ।औद्योगिक उत्पादन विद्युत् आपूर्तिको सहजतासँगै गतिमा आएको छ। औद्योगिक क्षेत्र अघिल्लो वर्षको संकुचनबाट उम्किएको देखिन्छ।
विद्युत् उत्पादनमा भएको वृद्धिले उद्योगहरूको क्षमता उपयोग बढाएको छ। निजी क्षेत्रमा लगानी विस्तार, कर्जा प्रवाहमा सहजता, घरजग्गा कारोबारमा सुधार, निर्माण सामग्री सस्तो हुनु र पूर्वाधारको विस्तारले औद्योगिक उत्पादनमा पुनः उभार ल्याएको हो।सेवा क्षेत्र पर्यटन र वित्तीय गतिविधिले वृद्धि भएको छ। विदेशी पर्यटक आगमन, आन्तरिक पर्यटन, बैंकिङ कर्जाको सहज पहुँच, घट्दो ब्याजदर र बढ्दो उपभोग प्रवृत्तिले सेवा क्षेत्र थप विस्तार भएको देखिएको छ। यातायात, संचार, उपभोग्य वस्तु, रियल स्टेट जस्ता उपक्षेत्रहरू समेत विस्तारको बाटोमा छन्।पूर्वाधार निर्माण गतिविधिमा पुनः ऊर्जा आएको छ।
हालसम्म पुँजीगत खर्च र राजस्वमा सन्तुलन नदेखिए पनि सुरुङमार्ग, जलाशययुक्त जलविद्युत् आयोजना, सडक स्तरोन्नति, ट्रान्समिसन लाइन विस्तार लगायतका कार्यले पूर्वाधार क्षेत्रले गति लिएको छ। पुनर्निर्माण र सरकारको पहलले यो क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ।

बाह्य क्षेत्रतर्फ, शोधनान्तर बचत र वैदेशिक मुद्राको सञ्चिति सन्तोषजनक रहेको छ। निर्यात तथा विप्रेषण आप्रवाहको बढोत्तरीले शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको छ। हाल विदेशी मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ। सरकार र निजी क्षेत्र मिलेर नीतिगत स्थायित्व, लगानी प्रवद्र्धन र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन आवश्यक देखिन्छ।