नेपाली सिमेन्ट निर्यातमा भारी गिरावट: एक वर्षमा २४ प्रतिशतले घट्यो, भारतीय गुणस्तर चिह्न नवीकरणमा ढिलाइ मुख्य कारण

नेपाली सिमेन्ट निर्यातमा भारी गिरावट: एक वर्षमा २४ प्रतिशतले घट्यो, भारतीय गुणस्तर चिह्न नवीकरणमा ढिलाइ मुख्य कारण तरुण खबर ९ श्रावण २०८२, शुक्रबार १४:१७
नेपाली सिमेन्ट निर्यातमा भारी गिरावट: एक वर्षमा २४ प्रतिशतले घट्यो, भारतीय गुणस्तर चिह्न नवीकरणमा ढिलाइ मुख्य कारण

काठमाडाैं, ९ साउन । मुलुकको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान दिँदै आएको सिमेन्टको निर्यात आर्थिक वर्ष २०८१/८२ मा २४.२९ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष नेपालबाट २ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर मात्र निर्यात भएको छ।

यसको तुलनामा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको थियो, जसले निर्यातमा ठूलो कमी आएको देखाउँछ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ अर्ब २१ करोड ९४ लाख १८ हजार रुपैयाँ बराबरको ३ लाख ५६ हजार ४७३ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट निर्यात भएको छ भने ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ९० हजार २७२ मेट्रिक टन सिमेन्ट क्लिंकर निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २३ लाख ३२ हजार ३७६ टन पोर्टल्यान्ड सिमेन्ट र ५ लाख ६ हजार ८४१ टन क्लिंकर निर्यात भएको थियो।

मुलुकको सिमेन्ट र सिमेन्टको कच्चा पदार्थ क्लिंकरको मुख्य बजार भारत मात्र रहेको विभागको तथ्यांकले देखाएको छ। पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम सिमेन्ट भारत निर्यात हुँदै आएका छन्। तर, पछिल्लो समय भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बीआईएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यातमा भारी गिरावट आएको हो।