नेप्से ११ महिनापछि ३००० अंकमाथि, नयाँ कीर्तिमानको सम्भावना

नेप्से ११ महिनापछि ३००० अंकमाथि, नयाँ कीर्तिमानको सम्भावना तरुण खबर ११ श्रावण २०८२, आईतवार १२:०३
नेप्से ११ महिनापछि ३००० अंकमाथि, नयाँ कीर्तिमानको सम्भावना

काठमाडाैं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचक ११ महिनाभन्दा बढी समयपछि इन्ट्रा-डे कारोबारमा ३००० अंकभन्दा माथि उक्लिएको छ। यसअघि अन्तिम पटक गत वर्ष भदौ ९ गते नेप्से यो स्तरमा पुगेर ओरालो लागेको थियो। बन्द सूचकलाई मात्रै हेर्ने हो भने भने पोहोर साउन ३० गते नेप्से परिसूचक ३०००.८१ अंकमा रोकिएको थियो।

निरन्तरको उकालो यात्रा र सम्भावित चुनौती:

गत असार १२ मा २५९५ अंकमा बन्द भएको सेयर बजार त्यसयता लगातार उकालो लाग्ने क्रममा छ। यसै साउनको १ र ६ गते नेप्सेले निकै फराकिलो ‘जम्प’ गरेको थियो भने अन्य दिनमा पनि बजार क्रमशः उचालिएको देखिन्छ। यो समाचार तयार पार्दासम्म नेप्से ३००२ अंकमा कारोबार भइरहेको छ।

यदि नेप्सेले ३००० अंकको स्तरलाई छिचोलेर उकालो लागेमा उसका लागि ३२०० अंकको प्रतिरोध सबैभन्दा कठोर बन्न सक्छ, जुन चार वर्षअघिको भदौमा तयार भएको थियो। नेप्सेले ३२२७ अंक पार गरेमा यो पूर्णतः ‘बूलिश’ बन्नेछ र त्यसपछिका हरेक उचाइहरू कीर्तिमानी तय हुनेछन्।

बजारको विश्लेषण र भावी दिशा:

अहिले नै १५.७ प्रतिशतजतिको वृद्धि समेटिसकेको नेप्सेका लागि नयाँ उचाइ चुम्नु धेरै कठिन नपर्ने कतिपयको बुझाइ छ। यद्यपि, नेपाल राष्ट्र बैंकले साउन १५ सम्म बैंकको ब्याज बुझाउने मिति सारिदिएका कारण सेयर बजारबाट पैसा निकाल्न चाहनेहरू बढेको अवस्थामा बजारमा केही करेक्सन हुन सक्ने सम्भावना पनि रहन्छ। करिब साढे तीन वर्षअघि पनि यही स्तरमा आएर बजार ओरालो लागेको थियो। ३००० अंकमा नेप्सेको इतिहासले निकै दर्बिलो प्रतिरोधहरू देखाएको छ, जसलाई सामना गर्न अहिले सेयर बजार पूर्णतः सक्षम देखिएको छ।