पर्यटन बोर्डको १ अर्ब ६० करोडको बजेट सार्वजनिक, आय १५ प्रतिशत बढाउने लक्ष्य

पर्यटन बोर्डको १ अर्ब ६० करोडको बजेट सार्वजनिक, आय १५ प्रतिशत बढाउने लक्ष्य तरुण खबर ११ श्रावण २०८२, आईतवार १२:१३
पर्यटन बोर्डको १ अर्ब ६० करोडको बजेट सार्वजनिक, आय १५ प्रतिशत बढाउने लक्ष्य

काठमाडाैं, ११ साउन । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि कुल १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कोरोना महामारीपछिको शिथिल अवस्थाबाट बाहिरिँदै नेपालको पर्यटन क्षेत्र पुनः ऊर्जाशील बन्दै गएको सन्दर्भमा यो बजेटले पर्यटन क्षेत्रलाई व्यावसायिक, प्रभावकारी र दिगो बनाउने उद्देश्य राखेको छ। बोर्डका अनुसार, यो बजेटले पर्यटन प्रवाह बढाउने, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र समग्र पर्यटन प्रणालीलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

बजेटका मुख्य प्राथमिकता

बोर्डले बजेटको प्रमुख हिस्सा पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धनमा केन्द्रित गरेको छ, जसका लागि कुल बजेटमध्ये ४३ करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसका अतिरिक्त, कर्मचारी र कार्यालय सञ्चालनका लागि २६ करोड २७ लाख रुपैयाँ, पर्यटन सम्पदा तथा संरचना विकासका लागि १८ करोड ६३ लाख रुपैयाँ, र जनसम्पर्क तथा प्रचारप्रसारका लागि १२ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

प्रादेशिक विस्तार र अन्य कार्यक्रम

पोखरास्थित गण्डकी प्रदेश कार्यालयका लागि ११ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने अन्य नयाँ प्रादेशिक तथा क्षेत्रीय कार्यालयको स्थापना र सञ्चालनमा ११ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ। बोर्डका अनुसार, विशेष प्रवद्र्धनात्मक गतिविधिका लागि ४ करोड ६२ लाख रुपैयाँ, कार्यकारी समिति तथा प्रमुखको सचिवालय सञ्चालनका लागि ३ करोड रुपैयाँ, र अनुसन्धान, योजना तथा अनुगमन कार्यमा २ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रमुख लक्ष्य र रणनीति

बोर्डले पर्यटन आयमा १५ प्रतिशत वृद्धि गर्ने लक्ष्यसहित यो बजेट ल्याएको छ। यसका लागि पर्यटक आगमन बढाउने, नयाँ पूर्वाधार संरक्षण गर्ने, जनशक्ति उत्पादन र डिजिटल प्रवद्र्धनमा विशेष ध्यान दिइएको छ। नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्न ५० प्रमुख स्रोत बजारमा कार्यक्रम गर्ने योजना बोर्डले बनाएको छ। साथै, कम्तीमा ५ हजार नयाँ जनशक्ति उत्पादन गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा काम गरिनेछ। बजेटमार्फत लुम्बिनी र सुदूरपश्चिममा प्रादेशिक कार्यालय खोल्ने तयारी गरिएको छ। माइस (सभा, सम्मेलन, सेमिनार) पर्यटन प्रवद्र्धनका लागि छुट्टै २ करोड रुपैयाँ छुट्याइएको छ, र विदेशी पर्यटकलाई लक्षित गरी आयोजना गरिने कार्यक्रममा ७५ प्रतिशत अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गरिनेछ।