सुख्खाग्रस्त मधेशमा तत्काल राहत दिन ऊर्जामन्त्रीको निर्देशन: कागजी प्रक्रिया पन्छाएर काम गर्न आदेश

सुख्खाग्रस्त मधेशमा तत्काल राहत दिन ऊर्जामन्त्रीको निर्देशन: कागजी प्रक्रिया पन्छाएर काम गर्न आदेश तरुण खबर ११ श्रावण २०८२, आईतवार १३:२८
सुख्खाग्रस्त मधेशमा तत्काल राहत दिन ऊर्जामन्त्रीको निर्देशन: कागजी प्रक्रिया पन्छाएर काम गर्न आदेश

काठमाडाैं, ११ साउन । सरकारले मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतका उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा आयोजित आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले मधेश प्रदेशका आठ जिल्लामा सिँचाइ र खानेपानीको समस्या समाधानमा केन्द्रित हुन स्पष्ट निर्देशन दिएका हुन्।

बैठकमा मन्त्रालयका सचिवहरू सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल लगायत सहसचिव, उपसचिव तथा प्राविधिकहरू सहभागी थिए।

तत्काल राहतमा जोड

मन्त्री खड्काले कर्मचारीहरूलाई “कागजी प्रक्रिया, टेन्डरको झन्झट, खरिद प्रणालीको जटिलताभन्दा माथि उठेर, जुनसुकै कानुनी विकल्प प्रयोग गरेर भए पनि जनतालाई तत्काल राहत दिन” आदेश दिए। उनले भने, “जनताको खेत सुक्दै छन्, गाग्री रित्तिँदै छन्, अब मन्त्रालयको कुनै पनि इकाइ निष्क्रिय भएर बस्न मिल्दैन।”

सिँचाइका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउने जस्ता उपायहरू तत्काल सुरु गर्न मन्त्रीले निर्देशन दिए। साथै, खेतमा ढिलो रोपाइँ गर्नुपरे पनि कम पानीमा उच्च उत्पादन दिन सक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणहरू समेत किसानसम्म पुर्‍याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।

२४ घण्टामा प्रगति प्रतिवेदन

मन्त्री खड्काले “समयको हरेक क्षण निर्णायक” रहेको बताउँदै सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र र साधन प्रयोग गरेर जनतालाई सहजता दिन आग्रह गरे। उनले “राजधानीमा बसेर निर्देशन मात्रै दिने बेला नभई अब काम देखाउने बेला” भएकोमा जोड दिए। बैठकमा सहभागी भएका प्राविधिक र पदाधिकारीहरूले मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री खड्काले अब हरेक २४ घण्टामा प्रगति विवरण बुझाउने व्यवस्था पनि सुरु गर्न निर्देशन दिएका छन्।