निजी क्षेत्रलाई तीन जलविद्युत् आयोजनामा अवसर

निजी क्षेत्रलाई तीन जलविद्युत् आयोजनामा अवसर तरुण खबर १२ श्रावण २०८२, सोमबार १२:१७
निजी क्षेत्रलाई तीन जलविद्युत् आयोजनामा अवसर

काठमाडाैं, १२ साउन । विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण हुने तीन ठूला जलविद्युत् आयोजनाका लागि सात कम्पनीलाई सर्टलिस्ट गरेको छ । बुट (Build, Own, Operate, Transfer) मोडलमा सञ्चालन गरिने यी आयोजनाहरूका लागि सार्वजनिक आह्वानपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी विभागले सिफारिस सूची सार्वजनिक गरेको हो ।

सर्टलिस्टमा परेका कम्पनीहरूले आगामी भदौ २४ गतेभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव बुझाउनुपर्नेछ । विभागका अनुसार, प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ ।

विभागले २१.४ मेगावाटको इन्खुखोला–४, ६५ मेगावाटको कालीगण्डकी अपर, र ४९.५ मेगावाटको लोती कर्णाली पीआरओआर आयोजनाका लागि आवेदन आह्वान गरेको थियो ।

कुन आयोजनामा को-को सर्टलिस्ट भए ?

  • इन्खुखोला–४ आयोजनाका लागि:
    • बेनी हाइड्रोपावर प्रोजेक्ट
    • माउन्टेन इनर्जी नेपाल लिमिटेड
    • स्नो रिभर्स
  • कालीगण्डकी अपर आयोजनाका लागि:
    • एक्वापिक इनर्जी प्रालि–साहस ऊर्जा जेभी
    • निलगिरि खोला हाइड्रोपावर कम्पनी
  • लोती कर्णाली पीआरओआर आयोजनाका लागि:
    • अपि पावर कम्पनी
    • तारा इनर्जी–भोटेकोसी पावर कम्पनीको संयुक्त जेभी

विभागले सिफारिसमा परेका कम्पनीहरूसँग आवश्यक थप प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ । यसबाट नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी थप आकर्षित हुने अपेक्षा गरिएको छ ।