रोपाइँमा सुस्तता: ७८.८४ प्रतिशत मात्रै सम्पन्न, मधेसमा वर्षाको अभाव मुख्य कारण

रोपाइँमा सुस्तता: ७८.८४ प्रतिशत मात्रै सम्पन्न, मधेसमा वर्षाको अभाव मुख्य कारण तरुण खबर १२ श्रावण २०८२, सोमबार १२:२२
रोपाइँमा सुस्तता: ७८.८४ प्रतिशत मात्रै सम्पन्न, मधेसमा वर्षाको अभाव मुख्य कारण

काठमाडाैं, १२ साउन । यस वर्षको मनसुनमा अपेक्षित वर्षा नहुँदा देशभर धान रोपाइँ सुस्त गतिमा अगाडि बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभर कुल लक्षित क्षेत्रको ७८.८४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । गत वर्षको यसै अवधिसम्म ९२.६ प्रतिशत रोपाइँ सकिएको थियो ।

मन्त्रालयले यस वर्ष रोपाइँमा ढिलाइ हुनुको मुख्य कारण ढिलो वा अपर्याप्त वर्षा, विशेषगरी मधेस प्रदेशजस्ता क्षेत्रमा सुख्खापन रहेको जनाएको छ । यसले गर्दा गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रगतिमा कमी आएको हो ।

प्रदेशगत रूपमा धान रोपाइँको अवस्था हेर्दा, सुदूरपश्चिम प्रदेश ९८.९४ प्रतिशतसहित अग्रस्थानमा छ । त्यसैगरी, कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत र लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत रोपाइँ सकिएको छ ।

बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८४.५३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा भने ८०.३९ प्रतिशत रोपाइँ सकिएको छ ।

सबैभन्दा कम रोपाइँ भने मधेस प्रदेशमा भएको छ, जहाँ ५१.८२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । अन्नको भण्डार मानिने मधेस प्रदेशमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको देखिन्छ । यसले यस वर्ष धान उत्पादनमा असर पर्ने चिन्ता बढाएको छ ।