तरुण खबर
१२ श्रावण २०८२, सोमबार १३:००
काठमाडाैं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर महिनाभित्रै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगितालाई राष्ट्रिय गौरवको विषयका रूपमा लिनुपर्नेमा जोड दिए ।
विशेषगरी सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदलाई मध्यनजर गर्दै १०औँ राष्ट्रिय खेलकुदको तयारी भव्य र गरिमामय बनाउन प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिए । उनले खेलको मिति र स्थानको राम्रोसँग अध्ययन गरी अन्तिम निर्णय गर्न र एकपटक निर्णय भइसकेपछि परिवर्तन नगर्न पनि सल्लाह दिए ।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा जोड दिए । छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टङ्कलाल घिसिङलगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
स्मरण रहोस्, १०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने तय भएको छ । यसअघि पटकपटक मिति सर्दै आएको यस खेलकुदलाई समयमै सम्पन्न गर्ने प्रधानमन्त्रीको यो निर्देशनले तयारीमा थप तीव्रता आउने अपेक्षा गरिएको छ ।


