‘पर्यटनीति २०८२’ सार्वजनिक: निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन विकास गर्ने सरकारको प्रतिबद्धता

‘पर्यटनीति २०८२’ सार्वजनिक: निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन विकास गर्ने सरकारको प्रतिबद्धता तरुण खबर १२ श्रावण २०८२, सोमबार १५:१४
‘पर्यटनीति २०८२’ सार्वजनिक: निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन विकास गर्ने सरकारको प्रतिबद्धता

काठमाडाैं, १२ साउन । सरकार निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रलाई अगाडि बढाउन प्रतिबद्ध रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताएका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक समारोहमा बोल्दै मन्त्री पाण्डेले यो कुरा स्पष्ट पारेका हुन् ।

“निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ । निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ । हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं,” मन्त्री पाण्डेले भने ।

संविधानसभाबाट २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै सङ्घीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिँदै उहाँले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गरे ।

मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराए । उनले भने, “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो । यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्‍याउनेछ ।” नयाँ पर्यटन नीतिले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने र राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।