नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५

नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ तरुण खबर ३१ जेष्ठ २०७८, सोमबार ११:२९
नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५

कुल संक्रमितमध्ये ८ हजार ४१२ भन्दा बढीको मृत्यु
काठमाडौं । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । पछिल्ला केही हप्ताहरूमा संक्रमित हुनेहरूको सङ्ख्यामा ’केही कमी देखिएकाले’ निषेधाज्ञा पनि केही खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ । तर अध्यादेशमा आधारित रहेर कुनै पनि बेला आवश्यकता अनुसार निशेधाज्ञा लगाउन सकिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।

यसअघि संक्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ महिनासम्म कायम गरिएको थियो । २ करोड ९६ लाख ८५ हजारभन्दा बढी जनसंख्या भएको नेपालमा ६ लाख ८ हजार ४७२ जना कुल कोरोनाभाइरस संक्रमित छन् । कुल संक्रमितमध्ये ८ हजार ४१२ जनाको निधन भैसकेको छ । नेपालमा जेठ ३१ गते सोमबार बिहानसम्ममा ६८ हजार ९५५ जना सक्रिय संक्रमित छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अझ थप ’केही खुकुलो’ बनाएर कार्यान्वयन गर्ने निर्णय गरिएको छ । खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै अनलाइन मार्फत सेवा सुविधा विहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको छ । गत हप्ता सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको थियो ।

आइतवार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले उक्त निर्णय गरेको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताएका छन् । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञाको अवधि बढाएर ७ असारसम्म पु¥याइएको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ । अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनलाई ७ असारसम्मै सञ्चालनमा रोक लगाइएको छ । यद्यपि औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

अब के गर्न पाइन्छ ?

त्यस्तै विकास निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइने भएको छ । तर सार्वजनिक तथा निजी सवारी साधनका हकमा लागु व्यवस्था भने कायम नै रहने छ । ललितपुरका प्रजिअ निरौलाका अनुसार कृषि कार्यसँग सम्बन्धित ढुवानी र आवतजावतका विषयमा केन्द्रीत रहेर सहजीकरण गर्ने पनि निर्णय गरिएको छ । त्यस्तै शैक्षिक शत्र शुरु भएका पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्स्तै  प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । विकास निर्माणजन्य सामग्रीका पसल छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।  अध्ययनका लागि विदेश जाने लगायतका विषयका कारण हिँडडुल गर्नुपर्ने मानिसका लागि पनि व्यवस्था केही खुकुलो पारिएको निरौलाले जानकारी दिए ।