तरुण खबर
१३ श्रावण २०८२, मंगलवार ११:३५
काठमाडाैं, १३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशको पर्यटन क्षेत्रको समग्र विकास र प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत मन्त्री पाण्डेले नीति सार्वजनिक गरेका हुन् ।
मन्त्री पाण्डेका अनुसार, यो नीति नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिले विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ ल्याइएको हो । उनले नीति कार्यान्वयनका क्रममा आउन सक्ने चुनौतीहरूलाई सम्बोधन गर्न र समयसापेक्ष परिमार्जन गर्न सकिने पनि बताए ।
संघीय संरचनालाई प्रभावकारी बनाउन समन्वय परिषद् गठन भइसकेको र त्यसका तीनवटा बैठक सम्पन्न भएको जानकारी दिँदै मन्त्री पाण्डेले कार्यनीति र रणनीति निर्माणको प्रक्रिया अघि बढिरहेको बताए ।
सरकारले भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी मुलुकहरूसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने सम्बन्धी कार्ययोजनालाई पनि अघि बढाइरहेको छ । यसका साथै, मन्त्रालयले मातहतका निकायहरूको एकीकरणपछिका कानुनी चुनौतीहरू समाधान गर्न आवश्यक ऐन निर्माणमा समेत काम गरिरहेको छ ।


