पोखरामा प्रोटोनको पहिलो EV शोरूम, eMAS 7 सार्वजनिक

 पोखरामा प्रोटोनको पहिलो EV शोरूम, eMAS 7 सार्वजनिक तरुण खबर १३ श्रावण २०८२, मंगलवार १२:२९
 पोखरामा प्रोटोनको पहिलो EV शोरूम, eMAS 7 सार्वजनिक

काठमाडाैं, १३ साउन । नेपालको विद्युतीय सवारी साधन (EV) विस्तार योजनाअन्तर्गत प्रोटोनले पोखराको बुद्धचोकमा आफ्नो तेस्रो शोरूम सञ्चालनमा ल्याएको छ। काठमाडौं बाहिरको पहिलो प्रोटोन शोरूमको रूपमा यो शोरूम जगदम्बा मोटर्सले स्थापना गरेको हो, जसले प्रोटोनको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ।

शोरूममा कम्पनीको प्रमुख EV मोडेल eMAS 7 प्रदर्शनमा राखिएको छ, जुन प्राइम र प्रिमियम दुई भेरियन्टमा उपलब्ध छ। प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। छ रंगमा उपलब्ध eMAS 7 मा शक्तिशाली ब्याट्री, बुद्धिमानी इलेक्ट्रिक प्रोपल्सन सिस्टम, लेभल-२ ड्राइभर असिस्ट, र ३६० डिग्री क्यामेरा जस्ता फिचर छन्।

ग्राहक आकर्षित गर्न पोखरामा ०% ब्याजमा फाइनान्स, टेस्ट ड्राइभ, र परामर्श सेवा प्रदान गरिने प्रोटोनले जनाएको छ। यो गाडीले एक पटक चार्जमा ४१० किमीसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ भने ३०% देखि ८०% चार्ज २० मिनेटमै पूरा गर्न सकिन्छ। यसको सार्वजनिक अनावरण पोखरा इभेन्ट सेन्टरमा गरिएको थियो।

जगदम्बा मोटर्सले पोखरामा नयाँ सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याएको छ र आगामी दिनमा देशभर डिलर र चार्जिङ पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको छ।

मलेसियन उत्पादन eMAS 7, जुन सन् २०२४ को जुनमा विश्वव्यापी रूपमा सार्वजनिक गरिएको हो, त्यसभित्र लक्जरी इन्टेरियर, भेन्टिलेटेड सिट, १६ स्पिकर साउन्ड सिस्टम, एम्बियन्ट लाइटिङ, र ठूलो टचस्क्रिन डिस्प्ले जस्ता सुविधाहरू छन्। कम्पनीले २०२५ भित्रै राष्ट्रिय EV इकोसिस्टम विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।