रसुवा बाढी-पहिरो: ८४ करोडभन्दा बढीको बीमा दाबी

रसुवा बाढी-पहिरो: ८४ करोडभन्दा बढीको बीमा दाबी तरुण खबर १३ श्रावण २०८२, मंगलवार १३:२२
रसुवा बाढी-पहिरो: ८४ करोडभन्दा बढीको बीमा दाबी

काठमाडाैं, १३ साउन । रसुवामा गत असार २३ गतेको अविरल वर्षा र बाढी-पहिरोबाट भएको क्षतिको बीमा दाबी रकम झन्डै ८४ करोड रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, साउन ८ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार विभिन्न बीमा कम्पनीहरूमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा दाबी परेका छन्।

बाढी-पहिरोबाट सबैभन्दा ठूलो क्षति सवारीसाधनमा भएको देखिएको छ। सार्वजनिक तथा निजी गरी कुल ५२ वटा बीमालेखमा दाबी परेको प्राधिकरणले जनाएको छ। यसमा ३८ वटा सार्वजनिक र १४ वटा निजी मोटर समावेश छन्। सार्वजनिकतर्फ २ करोड ५९ लाख ५० हजार रुपैयाँ र निजी मोटर बीमाअन्तर्गत २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको दाबी पेश भएको छ।

ठूलो आकारको दाबी भने सम्पत्ति बीमाअन्तर्गत परेको छ। तथ्यांकअनुसार ५८ करोड १ लाख रुपैयाँ बराबरको ६ वटा दाबी सम्पत्ति बीमालेखमा परेको छ। यस्तै, सामुन्द्रिक बीमामा १६ करोड २३ लाख १० हजार रुपैयाँ र इन्जिनियरिङ ठेकेदार जोखिमअन्तर्गत ५ करोड ४० लाख रुपैयाँ बराबरको दाबी पेश भएको छ।

बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा ठूलो दाबी पेश भएको छ। यस कम्पनीमा ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ, जुन कुल दाबीको ६५.१८ प्रतिशत हो। अन्य कम्पनीहरूमा शिखर इन्स्योरेन्समा १६ करोड ८५ लाख १० हजार, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख, नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार रुपैयाँ दाबी परेको छ। यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ७५ लाख ५० हजार, सानिमा जीआईसी इन्स्योरेन्समा ७५ लाख, एनएलजी इन्स्योरेन्समा ४७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख र प्रभू इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको दाबी पेश भएको छ।