तरुण खबर
१४ श्रावण २०८२, बुधबार १२:२४
काठमाडाैं, १४ साउन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (साउन १४ गते) २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिन अवधिको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत यो रकम बजारबाट तान्न लागेको हो।
यो निक्षेप संकलन बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ।
केन्द्रीय बैंकका अनुसार, बोलकबोल आज मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र हुनेछ। यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।
आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। यसको सावाँ तथा ब्याज भदौ २५ गते भुक्तानी गरिनेछ।
यसअघि पनि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब र साउन ११ गते ५० अर्ब रुपैयाँ बजारबाट खिचेको थियो।


