तरुण खबर
१४ श्रावण २०८२, बुधबार १२:४१
काठमाडाैं, १४ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामा माथि ल्याइएको अविश्वास प्रस्ताव मंगलबारको संसदीय दलको बैठकबाट पारित भएको छ। अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले आफूमाथि लोकतान्त्रिक प्रक्रिया पूर्ण पालना भयो कि भएन भन्ने विषयमा भने थप मूल्यांकन आवश्यक रहेको बताएका छन्।
मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामाले कांग्रेस लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी भएकाले अहिलेको प्रक्रियामा विधिको पूर्ण पालनाबारे मूल्यांकन गरिनुपर्ने बताए। यद्यपि, उनले आफ्नो पक्षमा बहुमत नआएको स्वीकार गर्दै दलको नेता पद स्वतः रिक्त भएको स्पष्ट पारे।
“अब दलको नेता रिक्त भएकाले नयाँ नेताको चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ,” उनले भने, “भोलिसम्म नयाँ नेताको चयन गोप्य मतदानबाट हुनेछ।”
लामाविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछिको मतदानले बागमती कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन पुनः परीक्षणको चरणमा पुगेको संकेत गरेको छ। अब दलको नेतृत्व कसले सम्हाल्ने भन्नेमा सबैको नजर कांग्रेसभित्र भोलि हुने चुनावतर्फ केन्द्रित छ।


