तरुण खबर
१४ श्रावण २०८२, बुधबार १६:४६
काठमाडाैं, १४ साउन । नेपाल चेम्बर अफ कमर्सले आफ्नो हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा एक बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। यस शिविरमा १०० भन्दा बढी महिलाहरूले स्तन जाँच तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन्।
मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यस वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा भएको यस कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाईन हस्पिटलले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।
बृहत् स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा आयोजित यस्ता स्वास्थ्य परीक्षण लगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरूलाई आग्रह गरे। निवर्तमान अध्यक्ष मल्लले महिलाहरूले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुने गरी उद्यमी र व्यावसायिक गतिविधिहरूमा समेत संलग्न भई अगाडि बढ्नुपर्नेमा जोड दिए।
नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले यस स्वास्थ्य शिविरबाट काठमाडौंको मनमैजु क्षेत्रका १०० भन्दा बढी महिलाहरूले स्वास्थ्य लाभ लिएको जानकारी दिए।
साढे सात दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिको रूपमा रहेको नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवम् निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरूलाई हीरक जयन्तीको अवसरमा थप उजागर गरिनेछ।


