तरुण खबर
१६ श्रावण २०८२, शुक्रबार ११:४९
काठमाडाैं, १६ साउन । नेपाली बजारमा कर्जाको लागत पछिल्लो तीन वर्षयताकै सबैभन्दा सस्तो भएको छ । तरलतामा सुधार र नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिका कारण वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) मा ठूलो गिरावट आएको हो । यसले गर्दा सर्वसाधारणलाई ऋण लिन सहज भएको छ ।
बेसरेटमा ऐतिहासिक गिरावट
साउन महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आधारदरको औसत ६.१० प्रतिशतमा झरेको छ । यो २०७८ माघ यताकै सबैभन्दा कम हो । विगतमा तरलता अभाव हुँदा बैंकहरूले निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिएका थिए, जसका कारण कर्जाको ब्याजदर पनि दोहोरो अंकमा पुगेको थियो । यसले जनताको आर्थिक भार बढेको थियो ।
अहिले भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्, जसको प्रत्यक्ष प्रभाव कर्जाको लागतमा परेको छ । नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर डा. विश्वनाथ पौडेल नेतृत्वमा जारी भएको मौद्रिक नीतिले पनि यसमा सहयोग पुर्याएको छ ।
कुन बैंकको बेसरेट कति?
साउन महिनामा सबैभन्दा कम आधारदर सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (४.८९ प्रतिशत) र विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंक (४.९० प्रतिशत) को रहेको छ । यी दुई बैंकले सबैभन्दा सस्तो कर्जा उपलब्ध गराउन सक्छन् ।
अन्य प्रमुख बैंकहरूको आधारदर यस प्रकार छ:
यी बैंकहरूको बेसरेट औसतभन्दा कम भएकाले तुलनात्मक रूपमा सस्तो ऋण पाइन्छ ।
केही अन्य बैंकहरूको आधारदर भने औसतभन्दा माथि रहेको छ । एनआईसी एशिया बैंकको आधारदर सबैभन्दा उच्च ७.१८ प्रतिशत छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको ६.५० प्रतिशत, कुमारी बैंक र प्राइम कमर्सियल बैंकको ६.६२ प्रतिशत, हिमालयन बैंकको ६.६३ प्रतिशत र प्रभु बैंकको ६.६६ प्रतिशत रहेको छ ।
कर्जाको ब्याजदर कसरी निर्धारण हुन्छ?
बैंकहरूले आफ्नो आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । यसको अर्थ, जुन बैंकको आधारदर कम हुन्छ, त्यहाँबाट लिइने कर्जाको ब्याजदर पनि कम हुन्छ । यस आधारमा, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट बैंकजस्ता बैंकहरूबाट कर्जा लिँदा ब्याजदर कम पर्न सक्छ ।
पछिल्लो एक वर्षको तुलनामा पनि बैंकहरूको औसत आधारदर १.५२ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा औसत बेसरेट ७.६२ प्रतिशत रहेकोमा अहिले ६.१० प्रतिशतमा झरेको छ । यसले गर्दा घर, गाडी वा व्यवसायका लागि ऋण लिने योजनामा रहेकाहरूलाई ठूलो राहत मिलेको छ ।


