‘जलविद्युतको केन्द्र’ बन्दै सङ्खुवासभा, स्थानीयलाई सीपयुक्त बनाइने

‘जलविद्युतको केन्द्र’ बन्दै सङ्खुवासभा, स्थानीयलाई सीपयुक्त बनाइने तरुण खबर १६ श्रावण २०८२, शुक्रबार १२:२१
‘जलविद्युतको केन्द्र’ बन्दै सङ्खुवासभा, स्थानीयलाई सीपयुक्त बनाइने

काठमाडाैं, १६ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । खाँदबारीमा पावर हाउस सञ्चालन र मर्मत सम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले यो जिल्ला ठूला जलविद्युत आयोजनाको सम्भावना बोकेको बताए ।

उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथो जस्ता ठूला आयोजनाहरू यस क्षेत्रमा निर्माणाधीन रहेको उल्लेख गर्दै यस्ता परियोजनाको सफलताका लागि स्थानीय प्राविधिक जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, “जलविद्युतका ठूला आयोजना सञ्चालनमा आउँदा रोजगारीको अवसर स्थानीय तहमै सिर्जना गर्न सीप विकासमुखी तालिम अपरिहार्य छ ।”

रोजगारी र आत्मनिर्भरतामा जोड

मन्त्री खड्काले अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण बनाउनु रहेको बताए । उनले सीप विकासले रोजगारी मात्र नभई आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्ने बताए ।

सो तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागीहरू आएका छन् । कुल १२० घण्टाको पाठ्यक्रम रहेको यो तालिमपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले उनीहरूलाई जलविद्युत परियोजनाहरूमा काम गर्न अवसर प्राप्त गर्न सहज हुनेछ ।

भविष्यमा प्राविधिक शिक्षालयको योजना

मन्त्री खड्काले स्थानीय युवाहरूलाई दक्ष बनाउन भविष्यमा खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको सुनाए । उक्त शिक्षालयमा स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न विषयमा सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरप्रमुख थपलियाले यस्ता पहलकदमीले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरता जगाउने बताउँदै नगरपालिकाले यसलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे ।