तरुण खबर
१ असार २०७८, मंगलवार ११:४६
काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्त गरेको हो । पोखरेलले केही समयदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएर सेवा दिइरहेका थिए । गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा गरेपछि पोखरेलले वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।
उनलाई बैंक सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी बनाएको हो । पोखरेल कामु प्रमुख कार्यकारी हुनुअघि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । पोखरेल अनुभवी बैंकर हुन् । उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले तत्कालीन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए ।
त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा एक वर्ष काम गरे । त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे । त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष बिताए । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलेका पोखरेल प्रमुख कार्यकारी अधिकृत हुनुमा अर्थपूर्ण रुपमा लिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेखत छ ।


