तरुण खबर
१९ श्रावण २०८२, सोमबार १२:२०
काठमाडाैं, १९ साउन । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
बैठकमा संघीय संसद्का महासचिवले राष्ट्रपतिबाट प्राप्त भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी सन्देश सभामा जानकारी गराउनेछन्।
त्यसैगरी, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ को दफा ४१ को उपदफा २ बमोजिम ‘सार्वजनिक लेखा समितिको ३२औं वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लेखित सुझावहरूलाई सदनमा स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसका साथै, युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा दिइने सहुलियत सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। आजको बैठकमा यी महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।


