सेवा अवधिसम्बन्धी विधेयकमा चलखेल: मुख्यसचिव अर्यालमाथि छानबिन समितिको आशंका

सेवा अवधिसम्बन्धी विधेयकमा चलखेल: मुख्यसचिव अर्यालमाथि छानबिन समितिको आशंका तरुण खबर १९ श्रावण २०८२, सोमबार १३:४३
सेवा अवधिसम्बन्धी विधेयकमा चलखेल: मुख्यसचिव अर्यालमाथि छानबिन समितिको आशंका

काठमाडाैं, १९ साउन । संघीय संसद्को विशेष छानबिन समितिले निजामती सेवा विधेयकको ‘कूलिङ अफ पिरियड’ (सेवापछि काम गर्न नपाउने अवधि) सम्बन्धी प्रावधानमा भएको चलखेलमा मुख्यसचिव एकनारायण अर्यालको संलग्नता रहेको निष्कर्ष निकालेको छ। समितिले तयार पारेको प्रतिवेदनमा मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूलाई बयानमा हस्ताक्षर गर्न रोकेको उल्लेख छ।

आइतबार समितिले प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम लगायतका अधिकारीहरूलाई बयान प्रमाणित गर्न बोलाएको थियो, तर उनीहरू मुख्यसचिवको निर्देशनमा उपस्थित नभएको समितिको ठहर छ।

समितिको छानबिनबाट अवकाश पाएका वा राजीनामा दिएका निजामती कर्मचारीका लागि राखिएको दुई वर्षे ‘कूलिङ अफ’ प्रावधानलाई निष्प्रभावी बनाउन मुख्यसचिव अर्यालको नेतृत्वमा वरिष्ठ कर्मचारीहरूले लबिङ गरेको आशंका गरिएको छ।

यस विषयमा प्रतिवेदनलाई अन्तिम रूप दिन समितिमा राजनीतिक मतभेद देखिएको छ। प्रमुख प्रतिपक्षी दलहरू (माओवादी केन्द्र, रास्वपा र राप्रपा) मुख्यसचिव अर्यालको नाम प्रतिवेदनमा राख्नुपर्ने अडानमा छन् भने सत्तारुढ दलहरू (एमाले, नेपाली कांग्रेस) त्यसको विपक्षमा उभिएका छन्। यसले गर्दा समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन।