तरुण खबर
१९ श्रावण २०८२, सोमबार १५:०२
काठमाडाैं, १९ साउन । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको औपचारिक प्रक्रिया सुरु भएको छ। निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापश्चात् प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयले जारी गरेको सूचनाअनुसार, संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा बहुमतको समर्थन प्राप्त गर्न सक्ने कुनै पनि प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदका लागि आफ्नो दाबी प्रस्तुत गर्न सक्नेछन्।
दाबी पेश गर्ने म्याद भोलि (मंगलबार) दिउँसो २ बजेसम्म तोकिएको छ। मुख्यमन्त्री लामाले साउन १८ गतेबाट लागू हुने गरी आजै स्वकीय सचिवमार्फत राजीनामा बुझाएका थिए। अब तोकिएको समयभित्र बहुमतको समर्थन प्राप्त गर्न सक्ने नेतालाई प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्।


