तरुण खबर
२० श्रावण २०८२, मंगलवार १२:१२
काठमाडाैं, २० साउन । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे संघीय संसदको बैठक बस्दैछ। आजको बैठकको मुख्य एजेन्डा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्नु रहेको छ।
बैठक सुरु भएपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद गौतमले उक्त विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव गर्नेछन्। त्यसपछि विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयका लागि प्रस्तुत गरिनेछ।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको पनि जवाफ दिने कार्यक्रम छ। अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुदीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


