तरुण खबर
२० श्रावण २०८२, मंगलवार १४:४६
काठमाडाैं, २० साउन । भिजिट भिसा अनियमितता प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। उनीहरूले जेठ १४ गते (मे २७) देखि यो माग राख्दै आएका छन्।
प्रतिनिधि सभाको बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले राप्रपाका सांसद दीपक बहादुर सिंहलाई बोल्न समय दिए। सिंहले आफ्नो पार्टीको माग पूरा नभएकोले बहिष्कार जारी राख्न बाध्य भएको बताए। उनले बहिष्कारका अवधिमा सांसदको भत्ता पनि नलिने घोषणा गरे।
त्यस्तै, रास्वपाका सांसद विराजभक्त श्रेष्ठले पनि सभामुखबाट बोल्न अनुमति पाएका थिए। उनले भिजिट भिसा प्रकरणमा न्यायोचित समाधान र ठोस कदम नचालिएसम्म आफ्नो आन्दोलन जारी रहने बताए। “हामी यो आन्दोलनबाट पछि हट्दैनौं, हाम्रो विरोध जारी रहन्छ,” उनले भने।
दुवै दलका सांसदहरूले आफ्ना भनाइ राखेपछि संसद बैठकबाट बाहिरिएका थिए।


