सरकारको प्रयास जारी, निर्धारित समयअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने अर्थमन्त्रीको दाबी

सरकारको प्रयास जारी, निर्धारित समयअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने अर्थमन्त्रीको दाबी तरुण खबर २१ श्रावण २०८२, बुधबार ११:२५
सरकारको प्रयास जारी, निर्धारित समयअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने अर्थमन्त्रीको दाबी

काठमाडाैं, २१ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय सूची (ग्रे लिस्ट) बाट निर्धारित समयअगावै बाहिर निकाल्न सरकारले सघन प्रयास गरिरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यसका लागि विभिन्न कानूनी र नीतिगत सुधारहरू गरिसकेको जानकारी गराए।

ग्रे लिस्टबाट बाहिरिन भएका मुख्य प्रयासहरू

  • कानूनी संशोधन: सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले १९ वटा विभिन्न ऐनहरू संशोधन गरेको छ।
  • नियमावली कार्यान्वयन: सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली २०८१ जारी भई कार्यान्वयनमा आएको छ।
  • रणनीति र कार्ययोजना: सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रणनीति तथा कार्ययोजना (२०८१–२०८६) कार्यान्वयनमा छ।
  • निर्देशनहरू जारी: बहुमूल्य धातु, क्यासिनो र घरजग्गा कारोबारसम्बन्धी सूचक संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशनहरू २०८२ जारी गरी कार्यान्वयनमा ल्याइएको छ।
  • समन्वय संयन्त्र: रणनीति तथा कार्ययोजना अवधिका लागि ४ वटा कार्यान्वयन समन्वय संयन्त्रहरू गठन गरी काम भइरहेको छ।

अर्थमन्त्री पौडेलले सरकारले चालेका यी कदमहरूले गर्दा नेपाल चाँडै नै ग्रे लिस्टबाट बाहिरिने विश्वास व्यक्त गरे। उनले यी सुधारहरू दराजमा थन्काउन नभई कार्यान्वयनमा ल्याएर सार्थक नतिजा प्राप्त गर्न तयार पारिएको बताए।

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न तथा भविष्यमा यस्तो सूचीमा पर्न नदिन प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि विभिन्न क्रियाकलापहरूको विस्तृतीकरण २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको र त्यसको प्रतिवेदनसमेत फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत पठाइएको उनले सदनलाई जानकारी गराए।