तरुण खबर
२२ श्रावण २०८२, बिहीबार १२:३४
काठमाडाैं, २२ साउन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिस्री भदौ १ गते काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, यो भ्रमण प्रधानमन्त्री ओलीको भदौ १६-१७ मा हुने भनिएको भारत भ्रमणको लागि मार्ग प्रशस्त गर्न केन्द्रित हुनेछ।
आफ्नो दुई दिने नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। यस भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ। यद्यपि, भारतीय पक्षले भ्रमणका लागि भदौ १६ र १७ गतेको मिति प्रस्ताव गरे पनि, औपचारिक मिति भने अझै निश्चित भएको छैन। यस भ्रमणका क्रममा दुई पक्षबीच ओलीको भारत भ्रमणको एजेन्डाबारे पनि छलफल हुनेछ।


