तरुण खबर २२ श्रावण २०८२, बिहीबार २०:३५

काठमाडाैं, २२ साउन । नेपाल-श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र श्रीलंकाको चेम्बर अफ एक्सपोर्टबीच व्यापार, लगानी, र संयुक्त उद्यमका क्षेत्रमा सहकार्य गर्ने गरी एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

जुममार्फत आयोजित एक कार्यक्रममा नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चमेरा मुनासिंघेको उपस्थितिमा नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाको राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शका महासचिव/प्रमुख कार्यकारी अधिकृत एम. शिहम मारिकरले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताले दुई देशका व्यवसायीहरूलाई एकअर्काको देशमा व्यक्तिगत तथा सामूहिक भ्रमण गर्न सहज बनाउनेछ। यसबाट स्थानीय र राष्ट्रिय आर्थिक गतिविधिहरूमा वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, व्यापार, लगानी, सेवा, र व्यापारिक सम्बन्धका साथै व्यापारिक समूहहरूको आदानप्रदानमा पनि थप सहयोग पुग्नेछ।

समझदारीअनुसार, दुवै देशमा व्यापार मेला र प्रदर्शनीहरूको आयोजनालाई प्रोत्साहन गरिनेछ। यसको सुरुवातस्वरूप आगामी सेप्टेम्बर १८ देखि २१ सम्म श्रीलंकामा हुने ‘इन्डस्ट्रियल एक्स्पो’ मा नेपालबाट एक प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। भविष्यमा नेपालमा पनि यस्तै प्रकृतिको एक्स्पो आयोजना गरी श्रीलंकाली प्रतिनिधिहरूलाई सहभागी गराइनेछ।

साथै, सम्झौतामा दुई पक्षबीच कुनै व्यापारिक विवाद उत्पन्न भएमा त्यसको समाधानका लागि एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। यसले दुवै देशका व्यवसायीहरूलाई थप सुरक्षित र सहज व्यापारिक वातावरण प्रदान गर्नेछ।