तरुण खबर
२२ श्रावण २०८२, बिहीबार २०:३९
काठमाडाैं, २२ साउन ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालीहरूलाई चाडपर्वहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आह्वान गरेका छन्। विशेषगरी तीजजस्ता पर्वहरूमा नेपाली पहिरन र सामग्रीको प्रयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो।
२२औं सृजनशील उद्यमी मेला-२०८२ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली महिलाहरूको उद्यमशीलता देशको आर्थिक परिवर्तनको आधार भएको बताए। “अब हङकङको साडी होइन, आफ्नै देशमा बनेका पहिरन प्रयोग गर्नुस्। यसले तपाईंको सुन्दरता मात्र बढाउँदैन, देशको अर्थतन्त्रलाई पनि मजबुत बनाउँछ,” उनले भने। उनले विदेशी वस्तुहरूको अत्यधिक प्रयोगले स्वदेशी उद्योगहरूमा परेको असरप्रति चिन्ता व्यक्त गरे।
मन्त्री भण्डारीले महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख साधनका रूपमा हेर्नुपर्नेमा जोड दिँदै सरकारले महिलामैत्री कार्यक्रमहरू, जस्तै सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता, र ‘मेड इन नेपाल’ अभियानलाई प्राथमिकता दिएको जानकारी दिए।
उनले महिला सृजनशील केन्द्रद्वारा सञ्चालित व्यावसायिक तालिम र सीप विकास कार्यक्रमको प्रशंसा गरे। यस्ता मेलाहरूले रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनको विश्वास थियो। मेलामा हस्तकला, ढाका कपडा, खाद्य पदार्थ, र अन्य घरेलु उत्पादनहरू प्रदर्शन गरिएको थियो।
मन्त्री भण्डारीले स्वदेशी उत्पादनमा मौलिकता, गुणस्तर र ब्रान्डिङको आवश्यकता औंल्याउँदै नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउन सरकार सधैँ सहयोगी भूमिकामा रहने प्रतिबद्धता जनाएका थिए। उनले महिला उद्यमीहरूका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनका लागि आवश्यक रणनीति बनाइने पनि स्पष्ट पारे।


