तरुण खबर
२६ श्रावण २०८२, सोमबार ११:४०
काठमाडाैं, २६ साउन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको १७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीलाई भेटी सोको निम्तो दिएको हो, जसलाई प्रधानमन्त्रीले स्वीकार गरेका छन्।
नाडा अटो शो आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। यस वर्षको प्रदर्शनीमा युनिट्र रोबोट्स् र डिपिएल इभटोल युएभी जस्ता नयाँ र भविष्यउन्मुख प्रविधिहरू मुख्य आकर्षणका रूपमा रहने नाडाका अध्यक्ष चौधरीले बताए। यो प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठका अनुसार, प्रधानमन्त्रीसँगको भेटमा नाडाको ५०औँ वार्षिकोत्सव मनाउने तयारी र यस वर्षको अटो शोलाई अझ फरक र विशेष बनाउने विषयमा छलफल भएको थियो। यसै सन्दर्भमा हाल नाइमा (नेपाल इन्टिग्रेटेड मोबिलिटी एसोसिएसन) द्वारा आयोजित अटो शो चलिरहेको छ, जसको उद्घाटन उपप्रधान तथा अर्थमन्त्रीले गरेका थिए। नाडाले आफ्नो अटो शोलाई नाइमाभन्दा फरक र भव्य बनाउने तयारी गरिरहेको छ।


