तरुण खबर
२७ श्रावण २०८२, मंगलवार ११:०६
काठमाडाैं, २७ साउन । नबिल बैंकले आर्थिक वर्ष २०८१-८२ मा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यो जानकारी दिएको हो।
बैंकको खुद ब्याज आम्दानी पनि बढेर १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २५.४४ प्रतिशतले बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ। खराब कर्जामा आएको उल्लेख्य सुधारका कारण बैंकको नाफा बढेको हो। बैंकको खराब कर्जा ४.४५ प्रतिशतबाट घटेर ०.९५ प्रतिशतमा झरेको छ।
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ रहेको छ, जसले गर्दा बैंकले आफ्ना सेयरधनीहरूलाई १७.६४ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता बनाएको छ। हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ र जगेडा कोषमा ३६ अर्ब ६८ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ।
व्यवसाय विस्तारमा पनि बैंकले राम्रो प्रगति गरेको छ। बैंकको निक्षेप १३.५३ प्रतिशतले बढेर ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १०.५० प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। यसबाहेक, बैंकको प्रतिसेयर आम्दानी २६.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ।


