हेलम्बुको तिम्बु, नाकोते, कियुल र मेलाम्चीमा बाढी मच्चायो बितण्डा

हेलम्बुको तिम्बु, नाकोते, कियुल र मेलाम्चीमा बाढी मच्चायो बितण्डा तरुण खबर २ असार २०७८, बुधबार १२:३०
हेलम्बुको तिम्बु, नाकोते, कियुल र मेलाम्चीमा बाढी मच्चायो बितण्डा

उद्दारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलाम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ । मेलम्ची खोलमा आएको बाढीले हेलम्बु गाउँपालि र मेलाम्ची नगरपालिका र जिल्लाको सदरमुकाम समेत रहेको साँगाचोक चौतरा नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छन् । बाढीले चारवटा पक्की पुल पनि बगाएको छ ।

मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवोचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटे लगायतमा रहेका तीन वटा पक्की पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेको उनले बताए ।सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको सेनाले जानकारी दिएको छ ।

बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पु-याएको छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ । मेलाम्ची बजार क्षेत्रमा लेदोसहितको बाढी पसेको छ । बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति गरेको छ । तटीय क्षेत्रमा रहेका भण्डारी ट्राउट लगायत खोला किनारका माछा फार्म बाढीले बगाएको छ ।

त्यस क्षेत्रका निवर्तमान सांसद तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङका अनुसार बाढी प्रभाबित क्षेत्रका ५० जनाभन्दा बढी व्यक्ति बेपत्ता छन् । तर, स्थानीयले भने त्योभन्दा धेरै संख्यामा मानिसहरु सम्पर्कमा नआएका बताएका छन् ।