तरुण खबर
२७ श्रावण २०८२, मंगलवार ११:५१
काठमाडाैं, २७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले साउन २७ गते, मंगलबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण सेवा बन्द गरेको छ। यसअघि ड्युटी अफिसमार्फत यात्रुका आफन्तलाई भिजिटर पास दिइँदै आएकोमा अब यो व्यवस्था पूर्ण रूपमा हटाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो। सूचनाअनुसार, व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, फरक क्षमताका व्यक्ति, गर्भवती महिला र नाबालक यात्रुका लागि भने सहायता कक्षको व्यवस्था गरिएको छ। यस्तै, ह्वीलचेयर लगायतका विशेष सहायता चाहिने यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीसँगको सहकार्यमा आवश्यक सहजीकरण गरिने बताइएको छ।
साथै, विमानस्थल प्रशासनले यात्रुहरूलाई हवाई टिकटमा उल्लेखित चेक-इन ब्यागेजको संख्या र अधिकतम तौलको सीमा पालना गर्न पनि अनुरोध गरेको छ। यो नयाँ नियमले अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्रको भीडभाड कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



