तरुण खबर
२७ श्रावण २०८२, मंगलवार १२:००
काठमाडाैं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति र खेतीको अवस्थाबारे छलफल गर्न कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएका छन्। दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने यस छलफलमा कृषि मन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीहरू सहभागी हुनेछन्।
किसानहरूले मलको अभाव भइरहेको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले यस विषयमा चासो व्यक्त गरेका हुन्। यद्यपि, पर्याप्त मलको मौज्दात रहेको र थप मल आउने क्रम जारी रहेको बताइएको छ। प्रधानमन्त्री ओलीले यसअघि पनि खेतीपातीको समय अगावै मलको अभाव हुन नदिन काम गर्न र नेपालमै रासायनिक मल कारखाना खोल्ने तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए। यस छलफलले किसानका लागि मलको आपूर्तिलाई सहज बनाउने उपायहरू खोज्ने अपेक्षा गरिएको छ।


