तरुण खबर
२८ श्रावण २०८२, बुधबार १२:३२
काठमाडाैं, २८ साउन । मुक्तिनाथ कृषि कम्पनीको नाफामा आर्थिक वर्ष २०८१/८२ मा चामत्कारिक वृद्धि भएको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३६२.४९ प्रतिशतले बढेको हो।
यस अवधिमा कम्पनीले १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ गुणा बढी हो। अघिल्लो वर्ष कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको आम्दानी ८.४६ प्रतिशतले बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जबकि कुल आम्दानी ४७.२१ प्रतिशतले बढेर २५ करोड ६६ लाख रुपैयाँ कायम भएको छ। नाफा बढ्नुको प्रमुख कारण आम्दानीमा भएको वृद्धि र खर्च नियन्त्रण हो। गत वर्ष कम्पनीको कुल खर्च १४.५५ प्रतिशतले घटेर १३ करोड १९ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (EPS) अघिल्लो वर्षको ३.११ रुपैयाँबाट बढेर १४.३६ रुपैयाँ पुगेको छ। यता, प्रतिसेयर नेटवर्थ १०४.१२ रुपैयाँ रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ।


