तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्दै

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्दै तरुण खबर २८ श्रावण २०८२, बुधबार १२:३६
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्दै

काठमाडाैं, २८ साउन । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) देखिएपछि नेपाल राष्ट्र बैंकले आज (साउन २८ गते) पनि २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम बजारबाट तान्न लागेको हो।

यो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन्। बोलकबोल अनलाइन मार्फत आज दिउँसो ३ बजेसम्म गर्नुपर्नेछ।

कसरी हुन्छ बोलकबोल?

  • सहभागी संस्थाहरूले न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको लागि बोलकबोल गर्न सक्नेछन्।
  • निक्षेप संकलनको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ।
  • यस उपकरणको सावा तथा ब्याज भुक्तानी भदौ २२ गते गरिनेछ।

पछिल्लो समय राष्ट्र बैंकको सक्रियता

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पछिल्लो समय सक्रियता बढाएको छ। यसअघि साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब, साउन ११ गते ५० अर्ब, साउन १४ गते २५ अर्ब, साउन १८ गते ५० अर्ब र साउन २१ गते ४० अर्ब रुपैयाँ बजारबाट खिचिसकेको छ।